विराटनगर । कोशी प्रदेशमा चारको मृत्यु,  २८ जना बेपत्ता। प्रदेशमा शनिबार रातिदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोमा चार जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा १÷१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार सङ्खुवासभामा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । अन्य तीन जनाको पहिरोले पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका ६ का ३० वर्षीय गणेश तामाङ,  संखुवासभाको पाँचखपन गाउँपालिका–९ का २६ वर्षीय सन्तोष राई, भोजपुरको ट्याङकीमैयुं–८ का २५ वर्षीय मन्दिप राई छन् । पाँचथरको खालेलुङ–४ का ८ वर्षीय जुना साउदेनको भने खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोको कारण २८ जना बेपत्ता भएका छन् । जसमा २५ जना पुरूष र ३ जना महिला छन् । चार जना घाइतेको उद्धार भएको छ । जसमा २ महिला र २ पुरुष छन् ।

सबैभन्दा धेरै सङ्खुवासभामा मात्रै २० जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार बाढी पहिरोले पाँचथरको १२ वटा पुल क्षति गरेको छ । यस्तै १३ सडक अवरुद्ध भएको छ, पूर्ण रूपमा २२ घरमा क्षति पुगेको छ भने ४६ वटा चौपायाको मृत्यु भएको छ ।

संखुवासभाको हेवाखोलामा राति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कबिहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यस्तै सोही जिल्लाको मकालु गाउँपालिकामा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यस्तै बाढीले संखुवासभाको चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा क्षति गरेको छ ।

पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एक जना छन् । बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ । पुल बगेसँगै राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको डीआइजी राजेशनाथ बाँस्तोलाले बताए ।

उता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । बेपत्ता परिवारमध्ये एक जनाको शव निकालिएको छ । यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही ठाउँका अर्का एक जना भरत तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठूलो क्षति भएको बाँस्तोलाले जानकारी दिए । ‘तीन जिल्लाको धेरै ठाउँमा पुलपुलेसाहरू भत्किएका छन् । पाँचथरको हिलिहाङ र फिदिमको सिमानामा पर्ने मेची राजमार्गको पुल पूर्ण रूपमा क्षति पुगेको छ । तमोर कोरिडोरमा विभिन्न पुलहरू भत्किएका छन् । त्यहाँबाट धनकुटा मुलघाटतिर जाने बाटोको आगमन बन्द भएको छ,’ डीआइजी बाँस्तोलाले भने ।

वर्षा रोकिने र पुनः पर्ने क्रम जारी रहेकाले उद्धारमा केही कठिनाइ भए पनि तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारी तत् ठाउँमा उद्धार कार्यमा लागेको उनले जानकारी दिए ।

उनले भने, नेपाली सेना, सशस्त्र प्रहरी पनि उद्धारमा लागेका छन् । कतिपय ठाउँमा बाटो बन्द भएका कारण बाटो फेरेर पनि जानुपर्ने अवस्था छ । पुग्न नसकेका ठाउँमा रेडक्रसको टोली गएको छ । जोखिममा भएका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।’

 

99+     

Raj Khatiwada

By Raj Khatiwada

Raj Khatiwada also know as Rahgir is a writer woking for dmg nepal and writing news for dmg nepal . He covers the topic like political, science, economic

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.